काठमाडौं – चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै केही घण्टा लाग्ने भएको छ ।

सोमबार राति करिब ८ बजेतिर इच्छाकामना गाउँपालिका-६ नाम्सी पुल नजिकै पहिरो खसेर दुईतर्फी सडक अवरुद्ध भएको छ । राति देखि नै पहिरो पन्छाउन सुरु गरिएपनि थप पहिरो नखसे अझै ४ घण्टा लाग्न सक्ने जनाउँदै वैकल्पिक मार्ग प्रयोग गर्न सडक डिभिजन कार्यालय र प्रहरीले अनुरोध गरेको छ ।

सडक डिभिजनले मंगलबार आफ्नो फेसबुक पेजमा सूचना राख्दै पूर्ण रूपमा पहिरो पन्छाउन अझै समय लाग्ने भएकोले सर्वसाधारणलाई वैकल्पिक बाटो प्रयोग गरी यात्रा गर्न आग्रह गरेको छ ।