काठमाडौं – गृहमन्त्रालयले निलम्बित प्रहरी नायब उपरीक्षक(डिएसपी) ठगबहादुर केसीलाई बर्खास्त गरेको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले केसीलाई मंगलबार बर्खास्त गरेको हो ।

प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिनबाट डिएसपी केसीले गम्भीर रुपमा आचरण उल्लंघन गर्दै प्रहरी ऐन विपरीतको कार्यमा संलग्न रहेको देखिएको भन्दै एक महिनाअगाडि उनलाई सेवाबाट बर्खास्त गर्न गृह मन्त्रालयसमक्ष सिफारिस गरेको थियो । इलाका प्रहरी कार्यालय बुटवलमा काजमा रहँदा डिएसपी केसीले सुन व्यापारी किसन बिकसँग ‘घुस’ लिएको घटना बाहीरिएको थियो ।

बुटवल स्थित टेलीकम कार्यालय अगाडीबाट सुन सहित पक्राउ परेका किसनको साथबाट प्रहरीले ३६ तोला ३२ लाल सुन बरामद गरेको थियो । सो सुन फिर्ता गर्न केसीले नगद र चेक घुस लिएका थिए । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनको निवासबाट ८ लाख ५० हजार नगद र ९ लाख ५० हजारको चेक बरामद गरेको थियो । सोहि घटनामा उनी निलम्बनमा परेका थिए । प्रहरी प्रधान कार्यालयले उनलाई बर्खास्त गर्न असार दोस्रो सातामा गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।

प्रहरी हेड्क्वार्टरले सिफारीस गरेको झन्डै एक महिनासम्म पनि कुनै निणर्य नगरेको गृहले हिजो केसीलाई बर्खास्त गर्न निर्णय गरेको हो ।
सुन रितपुर्वक बरामद नगरेको र ‘बदनियत राखेर लिन खान खोजेको’ तत्कालीन एसएसपी चन्द्रकुवेर खापुङ नेतृत्वको छानबिन समितिको निष्कर्ष छ । उक्त समितिले भ्रष्टाचार ऐन अनुसार केसीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन सिफारिस गरेको थियो । समितिको सिफारिस अनुसार थप अनुसन्धान र कारबाहीको लागी प्रहरी प्रधान कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ ।