काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले सरकारले नवप्रवर्तनको क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मंगलबार बिहान राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको टोलीलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले विज्ञान र प्रविधिलाई उच्च प्राथमिकता दिएर मात्र विकास र समृद्धिलाई गुणात्मकता दिन सम्भव रहेकाले नवप्रवर्तनको क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिने बताएका हुन् ।

भेटमा अध्यक्ष डा. पुनले “यात्री” लगायत नेपालमै उत्पादित सवारी साधनलाई सञ्चालन अनुमति प्रदान गर्न र नवप्रवर्तनको क्षेत्रमा लगानी वृद्धि गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

डा. पुनले नेपालमा उत्पादित सवारी साधनलाई दर्ता गर्ने र प्रवद्र्धन गर्ने प्रयोजनका निम्ति सरकारले कानून ल्याउने तयारी गरेकोमा धन्यवाद दिँदै कानून निर्माणको काम छिट्टै सम्पन्न गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

प्रधानमन्त्रीले डा. पुनले उठाएका विषयहरू राष्ट्रिय हित र समृद्धिको पक्षमा रहेको भन्दै नवप्रवर्तनलाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

उनले विज्ञान–प्रविधिको विकास विना देशको विकास सम्भव नहुनेमा आफू स्पष्ट रहेको भन्दै नेपालमा उत्पादित सवारी साधनलाई दर्ता गर्ने र राष्ट्रिय उत्पादनलाई प्रवद्र्धन गर्ने कानूनको मस्यौदा तयार पार्ने प्रक्रिया अघि बढिसकेको जानकारी दिए ।