काठमाडौं । काठमाडौं महानगरपालिकाले डोजर आतंक चलाएको भन्दै, महानगरबासीले आज विरोध प्रदर्शन गरेका छन् । काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले, माइतीघरमा भेला भएर महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै प्रदर्शन गरेका हुन् ।
डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका प्रदर्शनकारीले मेयर बालेन साहप्रति आक्रोस पोखेका छन् ।
प्रदर्शनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमीले मेयर साह पहिलेका शासक भन्दा पनि निरंकुश भएको आरोप लगाएका छन् ।
महानगरपालिकाले संविधान र कानुन विपरीत डोजर चलाइरहेको भन्दै आइतबार महानगरबासीको ठूलो समूहले माइतीघरमा प्रदर्शन गरेको थियो । उक्त प्रदर्शनपछि सम्बोधन गर्दै सायमीले मेयर बालेन साहले जनताले दिएको अधिकारको दुरुपयोग गरेको आरोप लगाए।
यसअघि सूचना दिएर आमनागरिकलाई हटाउने गरेको महानगरले अहिले मनपरि गर्न थालेको उनको आरोप छ । ‘अहिले न सूचना दिएको छ, न मार्किङ गरेको छ । डोजर लिएर आएको छ । आक्रमण गरेको छ, लुट्दै बसेको छ । यो लुटतन्त्र हामी सहदनौं ।’ उनको भनाई छ ।