काठमाडौं – किर्गिस्तानस्थित मध्य एसियाको ट्रान्स अले दायराको सबैभन्दा अग्लो हिमाल लेनिन चुचुरो आरोहणका लागि आठ सदस्य शेर्पा टोली किर्गिस्तान पुगेको छ ।

काठमाडौंबाट हिजो शनिवार त्यसतर्फ प्रस्थान गरेका उनीहरु आज आइतवार विहान किर्गिस्तान पुगेका हुन् ।

लेनिन चुचुरोको २ चोटी सफल आरोहण गरिसकेका पेम्बा जाङ्बु शेर्पासहितको ९ सदस्यीय टोलीले त्यहाँ रहुन्जेल सहयोगी गाइडको रुपमा हिमाल आरोह गराउने छ । तर, टोलीको एक सदस्य केही समयपछि मात्रै जाने छन् ।

शेर्पाको आफ्नै कम्पनी मार्फत सो टोलीले चुचुरो आरोहणका लागि गाईड गर्नेछ ।  ‘आई एम ट्रेक एण्ड एक्पीडिसन’ नामक कम्पनी सञ्चालन गरिरहेका सञ्चालक पेम्बा जाङ्बु शेर्पाले टोली आजै लेनिन पिकको वेश क्याम्प पुग्ने जानकारी दिए ।

उनले त्यहाँको एक ट्रेकिङ कम्पनीसंगको सहकार्यमा नेपाली गाईडलाई आरोहणको लागि आफ्नै कम्पनीबाट लगेको र गाईडको कामसंगै नेपाली हिमालहरुको बारेमा प्रचार गर्न फाइदा पुगेको बताए ।

उनले भने, ‘यहाँको एक कम्पनीसंग सम्झौता गरेर शेर्पा गाइडहरु मैले आरोहणको लागि व्यवस्थापन गर्दै आएको छु । यहाँ आउनुको फाइदा भनेको यहाँ ७ हजार चढ्न आउनेहरु ८ हजारको हिमाल आरोहणका लागि नेपाल जान्छन् । नेपालको हिमालको बारेमा हामीले प्रत्यक्ष प्रचार गछौं । जसले नेपालको प्रचार र टुरिजम विकासको लागि फाइदा पुगेको छ ।’

त्यस्तै उनले आरोहणका लागि लेनिन पिक कठिन नभएको बताए । सो पिक नेपालको तुलनामा आरोहण गर्न पनि सस्तो र सजिलो रहेको उनको अनुभव छ ।

लेनिन चुचुरो किर्गिस्तान र ताजकिस्तानको सिमानामा रहेको पामिर पर्वतको ट्रान्स–अले रेन्जमा अवस्थित छ र हिम चितुवा पर्वतारोहण पुरस्कारमा समेत समावेश भएको छ । नेपालमा पर्वतारोहण गर्न आउने धेरैजसो विदेशिले यो पिक आरोहण गरेर आउने गरेको उनको दावी छ ।