काठमाडौं । चलचित्र ‘ह्यारीकी प्यारी’ ले प्रर्दशनको पहिलो दिनमा राम्रो प्रतिक्रिया पाएको छ । हलमा पुगेकाहरुको राम्रो प्रतिक्रियाका कारण कलाकारहरु उत्साही भएका छन् । प्रर्दशन अघिदेखि नै निक्कै चर्चामा रहेको चलचित्र ‘ह्यारीकी प्यारी’ का मुख्य कलाकार हरिप्रसाद चौलागाईं ‘ह्यारी’ (जितु नेपाल), जेनी राज्यलक्ष्मी शाह (साम्राज्ञी राज्यलक्ष्मी शाह) हरिप्रसादका काका जिते (विजय बराल) ले चलचित्र प्रर्दशनका आएको पहिलो शुक्रबार राम्रो प्रतिक्रिया आएको भन्दै खुसी व्यक्त गरेका छन् ।
फरक फरक पृष्ठभूमीबाट नेपाली चलचित्रमा जमेका कलाकारको संयुक्त प्रयासलाई दर्शकले मन पराएको उनीहरुको ठहर छ ।
चलचित्रमा मुख्य भूमिकामा रहेका अभिनेता जितु नेपालले अभिनय, कथाबस्तु तथा प्रस्तुतिका हिसाबले चलचित्र फरक रहेकोले राम्रो प्रतिक्रिया आएको बताए ।
चलचित्रकी नायीका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफुले गरेका अन्य चलचित्र भन्दा यो चलचित्र निक्कै फरक भएको बताइन् । उनले भनिन् हलमा पुगेपछि निरास भएर फर्किनु नपर्ने उनको भनाई छ । आज पहिलो दिनको प्रतिक्रियाबाट आफुलाई उत्साही बनाएको उनले बताइन् ।
चलचित्रमा ह्यारीका काकाको भूमीकामा रहेका अभिनेता विजय बरालले पनि आफुले यसअघि पाएको भूमीका भन्दा फरक भूमीकामा अभिनय गरेको भन्दै हरेक हिसावले चलचित्रले राम्रो नतिजा निकाल्ने आशा व्यक्त गरे । उनले चलचित्रको सबै पक्ष सबैलाई मन पर्छ भन्ने छैन तर केही न केही पक्षलाई स्मरणीय लाग्ने बताए ।
कस्तो छ फिल्म ?
समग्रमा ह्यारीकी प्यारी ड्रामा फिल्म हो।
दन्त चिकित्सक कपिल रिजालले निर्देशन गरेको यो फिल्मको कथा पनि कपिल आफैंले तयार पारेका हुन्।
चर्चित डाक्टर भोला रिजालका छोरा कपिलले पहिलो पटक निर्देशन गरेको यो चलचित्रमा उनले स्वास्थ्य क्षेत्रकै विषयबस्तु उठाएर हाँसो, रोदन र रोमान्ससंगै फरक खालको सन्देश दिन खोजेका छन् ।

विर्यदानको विषयवस्तु उठान गरिएको फिल्मको कथा नितान्त नयाँ छ। प्रस्तुतीलाई भने दर्शकले औसत मानेका छन् । धेरैजसो हाँस्य विधामै जमेका कलाकारले मुख्य भूमिका पाएको भएपनि, उनीहरुको गम्भीर अभिनय हेर्न लायक छ ।
सरल भाषा र संवादहरूले फिल्मलाई न्याय गरेको छ।
कथा नयाँ र राम्रो सम्भावना बोकेको फिल्मको शैली भने केही पुरानै लाग्छ ।
यो फिल्म जितु नेपालका लागि भने एकदमै विशेष छ। यसमा उनी पहिलो पटक प्रमुख भूमिकामा देखिएका छन्।
यो चलचित्रमा रञ्जना भट्टराई, विजय बराल र लक्ष्मी गिरी, डाक्टर भोला रिजाल, सरला रिजालको अभिनय छ । सरला बाहेक अरुको भूमिका न्यायपुर्ण छ ।
सम्पादनमा अब्बल फिल्मको क्लाइमेक्स भने केही फितलो छ।