अमेरिकी सरकारको विदेश मन्त्रालयले आज मानव तस्करीबारे एक रिपोर्ट सार्वजनिक गर्दै नेपाल सरकारले मानव तस्करीको उन्मुलनका लागि न्यूनतम मापदण्ड पूर्णरुपमा पालना नगरेको तर त्यसका लागि महत्वपूर्ण प्रयास भने गरेको जनाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले आज विश्वब्यापी मानव तस्करीबारे ६३४ पृष्ठ लामो रिपोर्ट सार्वजनिक गरेका हुन् ।
रिपोर्टको पूर्ण पाठ
सरकारले कम कारबाही थालेको र कम तस्करहरूलाई मात्र दोषी ठहराएको जनाइएको छ । सरकारले नेपाली आप्रवासी कामदारलाई शोषण हुनबाट संरक्षण प्रदान गर्नेगरी काम पाएबापत भर्ना शुल्क र अन्य रकम तिर्ने अवस्था अन्त्य गर्न नसकेको रिपोर्टमा उल्लेख छ ।
मानव तस्करीको रोकथामका लागि सरकारले सम्पूर्ण पहलहरु र नियमहरु पालना गरेको खण्डमा अमेरिकाले त्यस्ता देशलाई पहिलो श्रेणीमा राख्दै आएको छ । सरकारले पूर्णरुपमा मानवतस्करीको रोकथामका लागि काम गर्न नसकेको तर उल्लेख्य पहल गरेको खण्डमा दोश्रो श्रेणीमा राख्ने गरिएको छ । तर थप कमजोर रहेको अवस्थामा भने दोश्रो श्रेणीको वाचलिष्टमा राख्ने गरिएको छ । सरकारले मानवतस्करीको रोकथामका लागि उल्लेख्य पहल नगरेको खण्डमा तेश्रो श्रेणीमा राख्ने गरिएको छ ।

सबै प्रकारका यौन बेचबिखन र श्रम बेचबिखनलाई अपराधीकरण गर्नेगरी मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन परिमाजर्न गर्न, सबै बेचबिखन अपराधहरूको अनुसन्धान, अभियोजन, र सजाय बढाउन रिपोर्टमा सुझाव दिइएको छ । विशेष गरी विदेशमा शोषणमा परेका पुरुष र केटाहरू लगायतका पीडितको आश्रय र स्वदेश फिर्तासहित हेरचाहको उपलब्धता र क्षमता बढाउन सुझाव दिइएको छ ।