काठमाडौँ – राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सरकार र समाजलाई झक्झकाउनका लागि आफूहरुले सामाजिक आन्दोलन सुरु गरेको बताएका छन् ।

शुक्रवार माइतीघर मण्डलामा धर्ना सुरु गरेका पुनले फरक किसिमको सामाजिक आन्दोलनको सुरु भएको बताए।

‘यो आन्दोलनलाई हामी फरक किसिमको सामाजिक आन्दोलन भन्छौं । यो समाजलाई आविस्कार अनुसन्धान र नवप्रवर्तन गर्नुपर्छ भन्ने सोचाई समाजमा आएको छैन् । त्यसैले समाजलाई यसको महत्व छ भनेर बुझाउन झक्झकाउने र सरकारलाई देशको अर्थतन्त्र सुर्धानलाई यो नगरी हुँदैन,गर्नै पर्छ भनेर बाध्य पार्ने आन्दोलन हो ’ पुनले भने ।

आविष्कारको क्षेत्रमा तीनै तहका सरकारले विकास बजेट छुट्याउँदा बेवास्ता गरेको भन्दै पुनले आन्दोलन स्वरुप शुक्रबारबाट समाज र सरकारलाई सचेत गराउन माईतीघरमा धर्ना सुरु गरेको प्रष्ट पारे ।

उनीसंगै धर्नामा बसेका युवाहरुले ‘स्टार्टअप उद्यमीहरुलाई प्रोत्साहन गर’, ‘नव उद्यमीहरुलाई हतोत्साहन नगर’,‘सन्ततिलाई आवश्यक नवप्रर्वतन,आविष्कार र अनुसन्धानमा सहयोग गर’,‘विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन पारित गर’ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

पुनले संघ, प्रदेश र स्थानीय सरकारले आफ्नो विकास बजेटको एक प्रतिशत बजेट अनुसन्धान तथा आविष्कारका लागि छुट्याएर कोष बनाउनु पर्ने तथा त्यसलाई सञ्चालन गर्न सरकारले आवश्य ऐन निर्माण गर्नु पर्ने लगायतका माग राखेका छन् ।